काठमाडौँ- व्यवसाय नभएपछि फिल्म निर्माणमा भने तीव्रता छ । अचेल प्रत्येक महिना आधा दर्जन बढी फिल्म फ्लोरमा निस्कने गरेको छ । यस्तैमा आगामी नयाँ वर्षको वैशाखमा ‘कामिनो’, ‘दौँतरी’, ‘सतीदेवी’, ‘मीराः स्याडो अफ अ रेन्बो, ‘जेरी २’ र ‘हात्ती छापा’ छायाङ्कनका लागि फ्लोरमा निस्कने तयारीमा छन् । दीपक वलीको निर्देशन रहने फिल्म ‘कामिनो’ पनि छायाङ्कनको तयारीमा छ ।
प्रदीप खड्का, वर्षा सिवाकोटी, नीति शाह, राजबल्लभ कोइराला, सौगात मल्ल, भोलाराज सापकोटा, रवीन्द्र झा लगायतको अभिनय रहने फिल्म एक्सेस नेपाल फिल्मसको निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनिल विष्ट गौली कार्यकारी निर्मातामा छन् । फिल्म वैशाख दोस्रो साताबाट फ्लोरमा जाने तयारी भएको निर्देशक वलीले बताए ।
किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्ती छाप’ को छायाङ्कन पनि वैशाखबाट सुरु हुनेछ । निर्माता किरण नेपालीले फिल्मको छायाङ्कन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासनासिंह ठकुरी, बुद्धि तामाङ लगायतका अभिनय छ ।
लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्म ‘सतीदेवी’ पनि यही वैशााखबाट फ्लोरमा निस्कँदैछ। ग्रामीण युवतीको सङ्घर्षको कथा भन्ने फिल्ममा अभिनेत्री मलिका महतको मुख्य भूमिकामा छिन् । निर्देशक सुवेदीकै निर्माण तथा लेखन रहेको फिल्ममा मलिकासँगै भोलाराज सापकोटा, कुलदीप अधिकारी लगायतको अभिनय रहनेछ । दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एसएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन वैशाखको दोस्रो साताबाट सुरु निर्देशक लक्ष्मणले बताए ।
मधुसूदन भट्टराईको निर्देशन रहने फिल्म ‘दौँतरी’ पनि छायाङ्कनको तयारीमा छ । आर्यन सिग्देल, मुकुन भुसालको मुख्य भूमिका रहने फिल्म लक्ष्मण सुवेदीले लेखेका हुन् । फिल्मको छायांकनबाटै सुरु गर्ने तयारी भइरहेको लेखक सुवेदीले बताए ।
‘मीरा : स्याडो अफ अ रेन्बो’ को शुभ–मुर्हुत केही अगाडि एक कार्यक्रमका बीच गरिएको हो । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने आमाको सङ्घर्षपूर्ण कथामा बन्न लागेको फिल्ममा अनिता पण्डितको निर्देशन रहनेछ । फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ । फिल्मको छायाङ्कन वैशाखबाटै सुरु गर्ने योजनामा निर्माण युनिट छ ।
यस्तै अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहने फिल्म ‘जेरी २’ पनि वैशाखबाट फ्लोरमा रहनेछ । हेमराज बिसीको निर्देशन रहने फिल्म ‘जेरी’ को सिक्वेल हो । अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने फिल्ममा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ निर्माताको रूपमा रहेका छन् ।