×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कृषि विश्वविद्यालयका विद्यार्थीलाई स्टार्टअप अनुदान: ६ समूहले पाए ५ लाखसम्म 'बीउ पूँजी'

कृषि विश्वविद्यालयका विद्यार्थीलाई स्टार्टअप अनुदान: ६ समूहले पाए ५ लाखसम्म 'बीउ पूँजी'

चितवन - चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका ६ वटा समूहलाई 'स्टार्टअप विजनेस' अनुदान प्रदान गरिएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई २ देखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी (Seed Capital) उपलब्ध गराउन आइतबार सम्झौता गरिएको हो।

विश्वविद्यालयको कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान र वन संकायमा अध्ययनरत ३ देखि ५ जनाको विद्यार्थी समूहलाई नवीनतम् व्यवसाय सञ्चालनका लागि सो रकम प्रदान गरिएको हो। विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले आयोजना गरेको एक कार्यक्रममा अनुदान आयोगका सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर थापा, उपकुलपति प्रा.डा. शारदा थपलिया र रजिष्ट्रार प्रा.डा. पुष्करबहादुर पालको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरियो।

कार्यक्रममा उपकुलपति प्रा.डा. थपलियाले विद्यार्थीहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने उद्यमी बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताइन्। उनले भनिन्, "विद्यार्थीको सोचलाई व्यवसायमा बदल्न विश्वविद्यालयले लगानी गरेको हो, यसले देशमै रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुग्नेछ।"

त्यस्तै, रजिष्ट्रार प्रा.डा. पुष्कर पालले बुट क्याम्पमार्फत छानिएका उत्कृष्ट व्यवसायिक योजनालाई स्टार्टअप अनुदान दिइएको जानकारी दिए। उनका अनुसार विद्यार्थीहरूले मोरिङ्गा पाउडर उत्पादन, सजावटी बिरुवाको टिस्यू कल्चर, एग्री अर्गानिक भर्मिवास, ट्राइकोभर्मी कम्पोष्ट र जिरो वेष्ट फिस प्रोडक्ट जस्ता नवीनतम् क्षेत्रमा काम गर्नेछन्।

निर्देशनालयका निर्देशक प्रा.डा. निराजन भट्टराईका अनुसार प्रारम्भिक छनौटमा परेका १२ समूहलाई बुट क्याम्प तालिम दिएर तीमध्ये उत्कृष्ट ६ समूह छानिएका हुन्। विद्यार्थीहरूलाई सुरुमा ५० प्रतिशत रकम उपलब्ध गराइने र व्यवसायको प्रगति हेरेर बाँकी रकम दिइने उप–निर्देशक डा. उज्वल तिवारीले बताए।

अनुदान प्राप्त गर्ने विद्यार्थी समूहहरूलाई आवश्यकता अनुसार विज्ञहरूबाट प्राविधिक मेन्टरसिप समेत प्रदान गरिनेछ। विश्वविद्यालयले यसअघि पनि ७ वटा विद्यार्थी समूहलाई यस्तै प्रकृतिको अनुदान उपलब्ध गराइसकेको छ।

प्रतिकृया दिनुहोस्