काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् । लिउ देउवालाई भेटेपछि परराष्ट्रमन्त्री खड्कालाई भेट्न सिंहदरबार आउनेछन् । त्यसपछि बेलुकी साढे ६ बजे खड्काले लिउलाई सम्मानमा रात्रिभोज दिँदैछन् ।
लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन् । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग पनि भेट गर्ने छन् । विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम पनि छ । त्यसपछि उनले सोमबारै ओलीलाई बालकोटमा गएर भेट्ने छन् । दाहाल, नेपाल र खनाललाई भने लिउले होटलमा भेट्ने कार्यक्रम रहेको छ । तर, कुन होटलमा भेट्ने भन्नेबारे सार्वजनिक गरिएको छैन ।लिउले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि उनले माओवादीका नेता उमेश स्थापितलाई पनि भेट्ने कार्यक्रम छ । लिउ बिहीबार वेइजिङ फर्कनेछन् ।