काठमाडौं - नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ। निगमले यही असार ३१ गते बुधबारदेखि लागू हुने गरी मुलुकभर साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर ग्यास भर्ने र प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो। यसअघि बजारमा अभाव हुन नदिन अस्थायी रूपमा ७.१ केजीको आधा ग्यास मात्र भर्ने व्यवस्था गरिएकोमा अब त्यसलाई अन्त्य गरिएको छ।
इन्डियन आयल कर्पोरेसन (IOC) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङको अवस्थामा सुधार आएको र बजारमा पूरा सिलिन्डरको उच्च माग रहेकाले यो निर्णय लिइएको निगमले जनाएको छ। हाल भारतबाट नियमित रूपमा ग्यास आयात भइरहेकाले बजारमा ग्यासको कुनै अभाव नहुने भन्दै निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास होल्ड वा भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न विशेष अनुरोध गरेको छ।