काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि हुँदा २१ सय अंकतर्फ अघि बढेको छ। साताको पहिलो कारोबार दिन आज नेप्से ५७ अंकले बढेको छ। यससँगै, नेप्से परिसूचक २ हजार ८६ अंकमा पुगेर रोकिएको छ।
आज २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ। आज ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। आज साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोसी जलविद्युत, सान्जेन जलविद्युत कम्पनी, नेस्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले मनग्य कमाएका छन्।
यसबाहेक, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोसी जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत ९ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ। आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा उल्लेख्य सुधार आएको छ। जसमध्ये उत्पादनमूलक समूहमा २५० अंकको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनी समूहमा १८१ अंकको सुधार आएको छ। यसैगरी, व्यापार समूहमा १७४ अंकको र जीवन बीमा समूहमा १७० अंकको सुधार आएको छ । यी बाहेक अन्य समूहमा पनि सुधार आएको छ।