काठमाडौं - नेपाली पुरुष क्रिकेट टोलीले २०२४ मा वेष्टइण्डिज र अमेरिकामा हुने टि-२० विश्वकप सिधै खेल्न पाउने उच्च सम्भावना बनेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ जसअनुसार नेपालको सिधैं विश्वकप खेल्न पाउने उच्च सम्भावना बनेको हो।
२०२४ देखि टि२० विश्वकपमा २० टोली हुनेछन् । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् ।
अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा स्वत: छनोट हुनेछन् । सन् २०२२ को विश्वकपका शीर्ष ८ टोली तथा वरीयता अनुसार त्यसपछिका शीर्ष २ टोली विश्वकपमा हुनेछन् । बाँकी ८ देश पाँच क्षेत्रको विभिन्न छनोट खेलेर आउने छन् ।
वरियता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिनेछ ।
नेपाल वर्तमान समयमा टि२० विश्वकपमा १२ औं स्थानमा छ । जसले गर्दा नेपालको सम्भावना उच्च देखिन्छ । यदि वेस्टइन्डिज यस वर्ष हुने टि२० विश्वकपमा शीर्ष ८ मा परेको खण्डमा वरियताको आधारमा तीन टोली २०२४ को विश्वकप खेल्नेछन् । नेपालले अहिलेको वरियतालाई कायम राखे स्वतः छनोट हुनेछ ।
अझै सुधार गरेको खण्डमा भने झनै सहज हुने देखिन्छ । वरियता शीर्ष दुई टोलीमा नेपाल सबैभन्दा बढी सम्भावना भएको देशमा देखिएको छ । नेपालले वरियता सुधारमा ध्यान दिनुपर्ने हुन्छ ।