काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको संघीय संसद सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमल्सिनाको सचिवालयका अनुसार नेपाल र चीनको संसदका नेतृत्वसहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्दैछन् ।
संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड लगायत नेतासँग भेटवार्ता गर्दैछन् । लि ले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
राजधानीमा ली को भ्रमणका कारण सडकमा यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिसकेको छ ।