काठमाडौं- भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन्।
उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो। शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन्। उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।