×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज घटस्थापना, याे वर्षकाे बडादशैँ सुरु

आज घटस्थापना, याे वर्षकाे बडादशैँ सुरु

काठमाडौं- नेपालीहरुको महान चाड वडादशैँ आजबाट सुरु भएको छ । आज घटस्थापना गरी घरघरमा जमरा राखेसँगै यस वर्षको वडादशैँ प्रारम्भ भएको छ ।

घटस्थापनासँगै आजदेखि नवरात्रि आरम्भ हुन्छ । घटस्थापनाको जमरा राखिन्छ भने घट कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, नवौं दिन सिद्धिदात्री गरी नवदुर्गाको अनेकौँ रुपको पूजा गरिन्छ ।

दशौँ दिन अर्थात् विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा लगाउने चलन रहेको छ । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो ।

यस्तो छ दशैँको महत्व

दशैँ नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैँ वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ ।

दशैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दशौँ दिनलाई दशमी वा दशैँ भनिन्छ, यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी,विजया दशमी र पूर्णिमा (कोजाग्रत) दशैँका प्रमुख तिथिहरू हुन् ।

दशैँ धार्मिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक, आर्थिक र मानिसको मनोवैज्ञानिक हिसाब सबै पक्षले दशैँ महत्वपूर्ण रहेको संस्कृतिविद् ओम प्रसाद धौभडेल बताउँछन् ।

उनी भन्छन्, ‘दशैँको महत्व भनेको धार्मिक हिसाबले असत्यमाथि सत्यको विजय अथवा दानवी प्रवृत्तिमाथि दैवी प्रवृत्ति भन्छौँ अथवा राम्रो पक्षले हाबी गरेको खुशियालीमा दशैँ मनाएको भन्ने गरिन्छ । जुन एक हिसाबले महिसासुरलाई दुर्गा भगवतीले विजयी हासिल गरेको सन्दर्भ जोडेर दशैँ मनाउने हाम्रो धार्मिक कथन रहेको छ ।’

दशैँसँग जोडिएको अन्य विविध पक्षहरु पनि छन् । दशैँ भनेको रात पछिको दिन जस्तै भएको धौभडेल बताउँछन् । उनी भन्छन्, ‘घाम पानी हावाहुरी, वर्षत डढेलो जस्ता थुप्रै किसिमका प्राकृतिक प्रकोपहरु सहेर राम्रो मौसमको समय अनि हिजो हामीले खानको लागि माना रोपेर मुरी फलाउनुपर्ने जुन काम हामीले गरेका थियौँ । त्यो रोपाइँमा हामीले रोपेका धानहरु फल्छन् कि फल्दैनन् भन्ने परिक्षा पनि दशैँले पाएको छ । खेतमा धानका बालाहरु लहलह झुलेका हुन्छन् । प्रकृतिमा विभिन्न फलफूलहरु फुलेका हुन्छन् । यसले दिने खुशियाली थपिदिन्छ, उल्लास थपिदिन्छ । खुलेको आकाश, हिमाल, शिरशिर चलेको चिसो हावा यी सबै पक्ष सुखद पक्ष हुन् । यही समयमा दशैँ आउँछ ।’

जमरा र रातो टिकाले दशैँमा झनै सौन्दर्य झल्काउने उनी बताउँछन् । दशैँमा आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम विशेष उत्साहका साथ गरिन्छ ।

दशैँलाई सबैभन्दा ठूलो चाडको रुपमा लिइन्छ । दशैँमा परदेशिएका हरु पनि घरदेश भित्रन्छन् । जागिर, पढाई तथा अन्य कामको सिलसिलामा घर बाहिर रहेकाहरु पनि घर भित्रन्छन् । यसरी आफन्त तथा परिवारबाट टाढिएकाको भेट पनि दशैँले गराउँछ । यस अर्थले पनि दशैँको छुट्टै महत्व छ ।

प्रतिकृया दिनुहोस्