ढाका - बंगलादेशमा गत वर्षको 'जुलाई आन्दोलन'का प्रमुख नेता तथा इन्किलाब मञ्चका प्रवक्ता शरिफ उस्मान हादीको निधन भएपछि देशभर तनाव चर्किएको छ। अज्ञात समूहको गोली प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका हादीको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको हो।
६ दिनसम्म मृत्युसँग सङ्घर्ष गरेका हादीको निधनको खबरले बंगलादेशमा पुनः हिंसा, आक्रोश र विरोध प्रदर्शन सुरु भएको छ।
सरकारको निर्णय र राष्ट्रिय शोक
हादीको मृत्युपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले गहिरो दुःख व्यक्त गर्दै एक दिनको 'राष्ट्रिय शोक' घोषणा गरेका छन्। उनले हादीलाई जुलाई आन्दोलनको निडर योद्धाको रूपमा स्मरण गर्दै हत्याराहरूलाई कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता जनाएका छन्। सरकारले हादीकी पत्नी र सन्तानको आर्थिक जिम्मेवारी लिने निर्णय समेत गरेको छ।
को हुन् उस्मान हादी?
हादी ती युवा नेता हुन् जसको नेतृत्वमा गत वर्ष विद्यार्थीहरूले शेख हसिनाको सरकार विरुद्ध हिंसात्मक आन्दोलन गरेका थिए। सोही आन्दोलनका कारण अगस्ट ५ मा हसिना सत्ताच्युत भएकी थिइन्। आगामी निर्वाचनमा उम्मेदवार समेत रहेका हादीलाई वर्तमान राजनीतिको महत्वपूर्ण खम्बा मानिन्थ्यो।
हिंसा र प्रदर्शन: 'प्रोथोम आलो' मा तोडफोड
हादीको मृत्युपछि आक्रोशित भिडले राजधानी ढाकास्थित प्रख्यात बंगाली अखबार ‘प्रोथोम आलो’ को कार्यालयमा आक्रमण गरेको छ। भवनका विभिन्न तलामा तोडफोड र आगजनी गरिएपछि केही पत्रकार र कर्मचारी भित्रै थुनिएका थिए। प्रदर्शनकारीहरूले अखबारले अन्तरिम सरकारप्रति नरम नीति लिएको आरोप लगाउँदै निशाना बनाएका हुन्।
त्यस्तै, ढाका विश्वविद्यालयमा विद्यार्थीहरूले गृहमन्त्री जहांगीर आलम चौधरीको पुतला जलाउँदै हत्यारा पक्राउ गर्न नसकेकोमा आक्रोश पोखेका छन्। इन्किलाब मञ्चले हत्याराहरू भारत भागेको भए पनि त्यहाँबाट फर्काएर कारबाही गर्न माग गर्दै देश ठप्प पार्ने चेतावनी दिएको छ।
सुरक्षा व्यवस्था कडा, 'अपरेसन डेभिल हन्ट–२' सुरु
बिग्रँदो सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सरकारले देशभर 'अपरेसन डेभिल हन्ट–२' सुरु गरेको छ। तनाव बढ्दै गएपछि सरकारले प्रमुख राजनीतिक व्यक्तिहरूलाई आफ्नो सुरक्षाका लागि हतियारको लाइसेन्स दिने प्रक्रिया समेत सहज बनाउने घोषणा गरेको छ।
हादीको मृत्यु र त्यसपछिको हिंसाले बंगलादेश पुनः एकपटक राजनीतिक अस्थिरता र अन्योलको भुमरीमा फसेको छ।