काठमाडौँ- राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले आशाहरुले मान्छेलाई बचाउने भएकाले मानिसले जीवन निराश बनाउन नहुने बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आजदेखि सुरु भएको दुई दिने नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलको प्रथम जिल्ला अधिवेशनमा उहाँले आशा नै नहुने हो भने जीवन सकिने भएकाले जीवनमा आशा जगाउनुपर्ने बताउनुभएको हो ।
समाचार लेख्न पत्रकारलाई पनि राम्रा कुरा देखाउनुपर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “पत्रकारले जे देख्छ, त्यही लेख्छ, तपाईंले पत्रकारलाई राम्रो देखाउनुहोस्, राम्रै लेख्छ, नराम्रो देखाउनुभयो भने त नराम्रै लेख्छ नि, पत्रकारले सत्य पस्किने हो, तर सत्य पस्किने भन्दैमा पत्रकारले पनि कसैको जीवनप्रतिको मोहमा आक्रमण गर्नुहँुदैन, भविष्यको आशामा आक्रमण गर्नुहुँदैन ।” समाजमा दुःख र पीडा छ भन्दैमा एउटा पत्रकारले दुःख र पीडा मात्रै पस्किने काम गर्नुहँुदैन भन्दै उहाँले त्यसको समाधानको उपाय पनि पस्किनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “दुःख र पीडाको समाधानको उपाय पनि पत्रकारले खोज्नुपर्छ, आजको पत्रकारितामा त्यो जरुरी छ, आशावादीका कुरा पनि पत्रकारिताले दिनुपर्छ । त्यो दिन सकेन भने निराशावादी मात्रै हुन्छ, त्यसले जीवनको मोह सकिन्छ ।” ‘म खुसी भएँ भने मात्रै म जस्ता अन्य व्यक्ति पनि खुसी हुन्छन् र समाज खुसी हुन्छ’ भन्ने मान्यता स्थापित गर्नु जरुरी रहेको आँैल्याउँदै उहाँले व्यक्तिले आफ्नो स्वतन्त्र अधिकार प्रयोग गर्दै खुसी भएर बाँच्ने मोह जगाउने बताउनुभयो । आज मात्रै होइन भोलिका लागि पनि आशावादी हुनुपर्छ भन्दै उहाँले जबसम्म बाच्छौँ सुखले बाँचौँ, मरेपछि कसले देख्छ भन्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका झाले बुद्ध दर्शनको चर्चा गर्दै भन्नुभयो, “आउँदा न सम्पत्ति लिएर आएका थियौँ, न लिएर जान्छौँ, आफूले सञ्चय गरेको धन के हुन्छ ? यदि छोराछोरी सपुत छन् भने आफ्नो व्यवस्था आफैँ गर्छन्, कपुत छन् भने त सञ्चय गरिदिएको पनि सिध्याउँछन् ।” उहाँले विसं २०६२ को वैशाख २ गते एकैदिन तीन घटना भएको स्मरण गर्दै भन्नुभयो, “वैशाखमा एकैदिन तीन घटना घट्यो, कोशीको बाँध टुट्यो, जनधनको क्षति भयो, त्यही दिन सरकार परिवर्तन भयो र नेपाल पत्रकार महासङ्घका अध्यक्ष म ठूलो सडक दुर्घटनामा परेँ ।
भोलिपल्ट ३ गते होसमा आउँदा म आफू बाँचेकोमा धेरै खुसी भएँ, मलाई त्यसले ठूलो आशा जगायो ।” कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आउँदो पुस्तालाई अझै सुन्दर बनाउने तथा आशासहितको जीवन जिउने सन्दर्भमा निराशाको बाटो बन्द गर्दै बालबालिका र किशोरकिशोरीलाई आशा कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । नीति बनाउँदैमा सबै सफल हुँदैन भन्दै उहाँले समुदायलाई सङ्गठित गर्दै सही बाटोमा लगे मात्रै राज्यको नीति सही मार्गमा कार्यान्वयन हुने बताउनुभयो । उहाँले नेपालको सन्दर्भमा एउटा नागरिकले सबैभन्दा पहिला पाउने नागरिकता हो भन्दै त्यो पाउन उसले व्यहोर्ने सास्ती, पैसा नखुवाई सवारी लाइसेन्स बन्दैन भन्ने मानसिकता, राज्यबाट पाउने सेवा सुविधा लिन व्यहोर्नुपर्ने झन्झट र त्यो पनि पैसा नखुवाई हुँदैन भन्ने गलत संस्कारको अन्त्य हुनुपर्ने बताउनुभयो ।
अहिलेका विद्यार्थीलाई कसरी यो मुलुक छाडेर विदेश जाने, नेपालका कुनै भविष्य छैन भन्ने पर्दा पनि उनीहरुमा आशा जगाउन नसक्नु दुर्भाग्य भएको चर्चा गर्दै अध्यक्ष पोखरेलले मानिसमा साना कुराले पनि आशा जगाउने भएकाले हरेक नागरिकमा आशा जगाउने कार्यक्रम ल्याउनु जरुरी रहेको बताउनुभयो । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर उदय निरौलाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर किशोर स्वास्थ्य तथा कल्याणका विषयमा कार्यशाला गर्दै आएको बताउनुभयो ।
उहाँले किशोरकिशोरीमा निराशापनले डरलाग्दो रूपमा जरो गाडेको अवस्थामा बालबालिका र किशोरकिशोरीमा सकारात्मक भावना तथा आशावादी जीवन दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ संस्था अगाडि बढेको चर्चा गर्नुभयो । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका महासचिव पृथ्वीराज थापाले ४१ वटा क्लबको १३० जनाभन्दा बढीको सहभागिता रहेको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने बताउनुभयो । हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल, एन प्याब्सनका पूर्वअध्यक्ष ऋतुराज सापकोटा, किवानिज नेपाल डिस्ट्रिक्ट गर्भनर लक्ष्मण लम्साललगायतले जीवन र आशाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।