काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थाल्नुभएको छ। सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा आइतबार पत्र दर्ता गर्नुभएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङका अनुसार विश्वासको मत लिने प्रयोजनसम्बन्धी पत्र दर्ता भएको छ। वैशाख १५ गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने बताइएको छ।
मुख्यमन्त्री शर्माले पहिलो पटक विश्वासको मत प्राप्त गर्दा ४० जना प्रदेश सभा सदस्यमध्ये २५ जनाले विश्वासको मत दिएका थिए तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत १७ गते प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिनुभएको थियो।
दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपाबाहेक नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका थिए। दोस्रो पटक ४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा ३९ जना मतदानमा सहभागी भएका थिए।
जसअनुसार मुख्यमन्त्री शर्मालाई विश्वासको मत पक्षमा ३८ जना प्रदेश सभा सदस्यको विश्वासको मत परेको थियो तर नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले फेरि विश्वासको लिनु परेको हो। केन्द्रमा बनेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहित सात दलको सत्ता गठबन्धन भत्किएसँगै कर्णालीमा पनि सत्ता समीकरण फेरिएको छ।