धनगढी-राष्ट्रपतिको निर्वाचनअघि राजनीतिक समीकरण फेरिएपछि सुरक्षित बनेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई मन्त्रालयको भागबण्डा टुंग्याउन सकस परेको छ ।
२६ माघमा प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता शाहले माअोवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीसहितको नयाँ समीकरण बनेपछि १७ गते विश्वासको मत लिने तयारी गरेका थिए ।
तर माओवादीर नाउपाले सरकारमा सम्मानजनक सहभागिता खोज्दै विश्वासको मत लिनुअघि भागबण्डा गर्नुपर्ने अडान राखेपछि पूर्वनिर्धारित कार्यक्रम रोकियो । अब २१ फागुनमा विश्वासको मत लिने तयारी गरेका शाहलाई त्यसअघि नै भागबण्डा टुग्यांउन साझेदार दलहरुले दबाव दिइरहेका छन् ।
माओवादी केन्द्रका एक प्रदेशसभा सदस्य राष्ट्रपति निर्वाचनमा बनेको समीकरण अनुसार शाहले विश्वासको मत पाउने बताउँछन् । ‘तर मन्त्रालयको भागबण्डा र मुख्यमन्त्रीको भावी कार्यकालबारे प्याकेजमै सहमति गरिनुपर्छ भन्ने कुरा राखेका छौँ’ उनी भन्छन् ।