काठमाडौँ- श्रीलंकामा संकटकालकाबीच राजनीतिक उथलपुथल चर्किएको छ । आइतबार रातिबाट तत्काल लागू हुने गरी श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका हुन् ।
राष्ट्रपति गोटाबाया राराजपक्षले आइतबार आर्थिक संकटका बीच सरकारविरोधी आन्दोलन चर्किन थालेपछि सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा मन्त्रीहरुले राजीनामा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् । अब सरकारमा प्रधानमन्त्री महिन्द राजपक्ष र राष्ट्रपति गोटाबय राजपक्ष मात्र रहेका छन् ।
यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढीलाई पक्राउ गरिएको थियो । आर्थिक मन्दीको विरोधमा कर्फ्यु तोडेर सरकारविरुद्ध र्याली निकालेका थिए । यसैबीच, श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्महरू पनि प्रतिबन्धित छन् । यसपछि आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल सेवा बन्द भएका छन् ।
मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् । यद्यपी मन्त्रिपरिषद्को यो सामूहिक राजीनामाको कारण भने खुलाइएका छैनन् । श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजपक्षले पनि आफ्नो सबै विभागबाट राजीनामा दिएका छन् ।