×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्कटल्याण्डमाथि नेपालको जित: बलिङमा कमाल, ब्याटिङमा संघर्ष

स्कटल्याण्डमाथि नेपालको जित: बलिङमा कमाल, ब्याटिङमा संघर्ष

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० सिरिजमा घरेलु टोली स्कटल्याण्डलाई रोमाञ्चक खेलमा २ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। बलरहरूको उत्कृष्ट प्रदर्शनले ९७ रनमा समेटिएको स्कटल्याण्डविरुद्ध नेपालले लक्ष्य भेट्टाउन अन्तिम ओभरसम्म संघर्ष गर्नुपर्‍यो।

बलिङमा कमाल, ब्याटिङमा संघर्ष

टस जितेर बलिङ रोजेको नेपालका लागि बलरहरूले सानदार प्रदर्शन गरेका थिए। करण केसीले आफ्नो १०० औं टी-२० अन्तर्राष्ट्रिय विकेट लिँदै उत्कृष्ट सुरुवात दिलाए भने दीपेन्द्र सिंह ऐरीले पनि २ महत्त्वपूर्ण विकेट लिए। सुरुवाती ५ ओभरमै ५ विकेट गुमाएर २४ रनको दयनीय अवस्थामा पुगेको स्कटल्याण्डलाई लेग स्पिनर सन्दीप लामिछानेले धराशायी बनाए। उनले ४ ओभरमा १ मेडनसहित मात्र ११ रन खर्चेर ४ विकेट लिएपछि स्कटल्याण्ड १९.४ ओभरमा ९७ रनमै अलआउट भयो।

स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको ब्याटिङ भने संघर्षपूर्ण रह्यो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए पनि अन्य ब्याट्सम्यानले लामो समय क्रिजमा टिक्न सकेनन्। एकपछि अर्को विकेट गुमाउँदा नेपाल दबाबमा आएको थियो।

अन्तिम ओभरको रोमाञ्च

खेल अन्तिम ओभरमा पुग्दा नेपाललाई जितका लागि ३ बलमा १ रन आवश्यक थियो। तर, किरण ठगुन्ना छक्का हान्ने प्रयासमा आउट भएपछि खेल थप रोमाञ्चक बनेको थियो। अन्ततः बलिङमा चम्किएका सन्दीप लामिछानेले नै पहिलो बलमा विजयी रन लिँदै नेपाललाई अविस्मरणीय जित दिलाए।

यो जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सिरिजमा अब नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्स तीनै टोलीको समान २-२ अंक भएको छ। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो।

प्रतिकृया दिनुहोस्