काठमाडौँ- अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् ।
पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’मा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ ।
त्यस्तै, अदालतबाटै दोषी ठहर भई ‘ फरार सूची’मा रहेका अर्का सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाटै पक्राउ गरेको हो ।
चौधरी गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र २ बाट निर्वाचित सांसद हुन् । उनीमाथि कैलाली गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको लु२त २११ नम्बरको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी गरेको आरोप छ ।
त्यसबखत ट्याक्टर मालिक महादेव बजगाईंले ‘आफ्नो ट्याक्टरमा आगो लगाइदिएको’ भन्दै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध २ भदौ २०६७ मा मुद्दा दायर गर्दै उजुरी दिएका थिए । उजुरीमा महादेवले ८ लाख ७५ हजार क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।
ट्याक्टरमा आगो लगाएको आरोपमा अरुण चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँको सजाय फैसला गरेको थियो । ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरी गरी तीनै जनालाई ६/६ महिनाको दरले कैद सजाय तोकिएको थियो ।
त्यस्तै, क्षति भएको दाबी गरिएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भएको थियो । घटना भएको १३ वर्षपछि र अदालतबाट सजाय तोकिएको नौ वर्षपछि प्रहरीले प्रतिनिधिसभा सदस्य बनेका चौधरीलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनका सिलसिलामा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘अदालतको फैसलाअनुसार फरार रहेका अरुण चौधरीलाई पक्राउ गरिएको हो,’ उनले बिहीबार राजधानीसँग भने, ‘फैसलाअनुसार नै कारबाही अघि बढ्छ ।’ चौधरी बाँके कोहलपुरबाट पक्राउ परेका हुन् ।
उनी २०७४ मा लम्कीचुहा नगरपालिका प्रमुखसमेत निर्वाचित भएका थिए भने ट्याक्टर मालिक बजगाईं प्रतिस्पर्धी थिए । घटनाका समय ट्याक्टरका चालक साजन चौधरीले उनीहरूले आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए ।
अरुण चौधरी अदालतबाट सजाय फैसला भएको दशकसम्म समेत फरार रहँदै आएका थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो । प्रहरीले ‘फरार सूची’मा रहेका एमाले सांसद कोइरीलाई भने खोजी गरिरहेको जानकारी दिएको छ । उनी ‘कहाँ छन् ?’ भन्ने विषयमा प्रहरी नै अनविज्ञ रहँदै आएको छ ।
प्रहरी प्रवक्ता पोखरेलले कोइरी खोजीमा नै रहेको जानकारी दिए । ‘प्रहरीले कोइरीलाई पक्राउ गर्न देशभरका संयन्त्रमा परिपत्र गरेको छ, उनी प्रहरीको खोजीमा छन्, खोज्ने काम जारी छ,’ प्रहरी प्रवक्ता पोखरेलले भने ।
कोइरी गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र १ बाट निर्वाचित एमाले सांसद हुन् । कोइरीमाथि हत्या अभियोग छ । तर, राजनीतिक संरक्षणका कारण उनी यहीबीच प्रतिनिधिसभामै छिर्न सफल भएका थिए ।
कोइरीले गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभामा विश्वासको मत दिएपछि गृह नेतृत्व र प्रहरी संयन्त्रमाथि पक्राउ गर्न दबाब बढ्दै आएको छ । कोइरी संसद्भित्र खुलमखुला हिँडेपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेकोसमेत चर्को आलोचना भएको थियो ।
उनले पहिले प्रहरी प्रधान कार्यालयलाई मौखिक रूपमै भए पनि ‘कोइरीलाई पक्राउ गर्न’ निर्देशन दिएका थिए । तर, ‘मौखिक निर्देशन कार्यान्वयन नभएको’ भन्दै गृहले पुनः प्रहरीलाई लिखित निर्देशन दिँदै कोइरीलाई पक्राउ गर्न भनेको थियो । गत ६ माघमा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर प्रहरी नेतृत्वप्रति असन्तुष्टि पोखेको थियो ।
‘उपप्रधानमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ त्यसबखत गृह मन्त्रालयले विज्ञप्तिमार्फत असन्तुष्टि पोख्दै भनेको थियो । कोइरीमाथि उनकै योजनामा २०७२ मा भएको मधेस आन्दोलमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको अभियोग छ । –राजधानी दैनिकबाट