लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच नेतृत्वको विषयमा सैद्धान्तिक सहमति भएको छ । सहमतिअनुसार माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया पालैपाले मुख्यमन्त्री बन्नेछन् । ‘विपक्षी गठबन्धनमा सैद्धान्तिक सहमति भएको छ,’ कनौडियाले मकालुखबरसँग भने, ‘आधा–आधा कार्यकाल मन्त्री बन्ने सहमति भएको छ । यहीअनुसार हामी चल्छौँ ।’
कनौडियाकाअनुसार केसी फागुन २ गतेसम्म मुख्यमन्त्री बन्नेछन् भने त्यसउता कनौडिया मुख्यमन्त्री बन्दैछन् । नयाँ सरकार चाँडै बन्ने दाबी कनौडियाले गरेका छन् । ‘पर्सिसम्ममा सरकार सरकार बन्नेछ,’ कनौडियाले भनेका छन्, ‘हामी त्यसकै लागि जुटेका छौँ ।’
केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्न लागेको लुम्बिनीमा सन्तुलित सरकार बन्ने कनौडियाको दाबी छ । ‘पावर सेयरिङ्ग मात्रै होइन,’ कनौडियाले भनेका छन्, ‘यहाँ सन्तुलित सरकार बन्छ, केन्द्रमा बनेको गठबन्धनअनुसारको बैठक बन्छ ।’
केन्द्रमा जस्तै प्रदेशमा पनि न्यूनतम साझा कार्यक्रम (राजनीतिक संयन्त्र) बन्ने कनौडियाले बताए । त्यसका लागि चाँडै कार्यदल बनाएर काम शुरु गर्ने पनि कनौडियाले बताए । ‘केन्द्रीय गठबन्धनअनुसारकै सरकार पनि हो,’ कनौडियाले भने, ‘अब हामी केन्द्रमा जस्तै न्यूनतम साझा कार्यक्र बनाउनेछौँ र त्यसले सरकारलाई चल्न सहज बनाउनेछ ।’
त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार (आज) राजीनामा दिएपछि गठबन्धनको सरकार बन्ने पक्का भएको हो । शुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्दैछन् ।