काठमाडौँ- पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विभिन्न उतारचढावका बीच प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सफल रहेको बताएका छन् ।
‘संविधान बनेपछिको पहिलो संसद्को कार्यकालमा विभिन्न उतारचढाव रह्यो, दुईपटक विघटन भयो’, उनले भने, ‘ठ्याक्कै सन्तुष्टि हुने ठाउँ त छैन तर जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ ।’ निवर्तमान सांसद श्रेष्ठले संविधान, लोकतन्त्र र सङ्घीयता बचाउनुपर्ने कर्तव्य आफूहरूले निर्वाह गरेको बताए । ‘त्यही कारण हामीले पार्टीमा विद्रोह गर्यौ’, उनले भने ।
निवर्तमान सांसद केदार सिग्देलले एउटा विधायकले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताए । ‘आफ्नो क्षमताले भेटेसम्म पदीय दायित्व इमानदारी पूर्वक बहन गर्ने प्रयास गरेँ’, उनले भने, ‘धेरै गरेँ भनी ठूला कुरा गर्न चाहन्न तर एउटा विधायकले निर्वाचन क्षेत्र र जनताको हितमा गर्न सकिने सम्मका काममा हरदम कोसिस गरेँ ।’