काठमाडौं - नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ। खेल आज ४ बजेर ४५ मिनेटमा दशरथ रंगशालामा हुने छ । खेलमा दर्शकले मैदान प्रवेशको अनमुति पाउने छन्। सरकारले जारी गरेको स्वास्थ्य मादण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
दोस्रो खेल माघ १८ गते हुने तय भएको छ। एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रतिव्यक्ति ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकटको व्यवस्था गरेको छ।
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मरिससविरुद्ध खेल अनुभव बटुल्ने अवसर भएको बताएका छन्।
दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अघि शुक्रबार आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै चेम्जोङले मरिसविरुद्धको खेललाई केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसरको रुपमा लिएको बताए।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई अलगअलग टोलीको घोषणा बुधबार नै गरेका थिए। किरणसहित १२ खेलाडी दुवै टोलीमा छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसअघि नै मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका थिए। सधैंझै हरेक खेलमा जित हात पारे खेलाडीहरु प्रशंसाको हकदार हुनेछन्। हारे त्यसको दोष केवल ममाथि मात्रै हुनेछ। हाम्रो उदेश्य भनेको खेलाडीहरुमाथि कुनै प्रकारको क्रुरता नदेखाइयोस्,’ अल्मुताइरीले भनेका थिए।
मरिससमा प्रशिक्षक टोनी फ्रान्कोइसले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको बताउँदै राम्रो प्रदर्शन गर्ने बताए।
‘४५ दिनको मात्र तयारी गरेका छौं। हाम्रो चार खेलाडी कोरोना संक्रमित भएर आइसोलेशनमा हुँदा अलिक फरक पर्छ। तर, नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने छौं,’ उनले भने।
गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीले आगामी जुन महिनामा एसिया कप छनोटको तेस्रो चरण खेल्दैछ। त्यसको तयारीस्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिगलाई बीचमै रोकेर दुई मैत्रिपूर्ण खेल आयोजना गरेको हो।