×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको च्याम्पियन

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको च्याम्पियन

काठमाडौं - आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका करुनारत्नेले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ खेले । चामिका करुनारत्नेले अविजित १४ रन बनाए । वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए । पाकिस्तानका हरिस राउफले ३ विकेट लिए । निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १/१ विकेट लिए ।

यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो । पाकिस्तान भने तेस्रो पटक उपाधि जित्न असफल भएको छ ।  प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।  

प्रतिकृया दिनुहोस्