×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले अब मलेसियासँग खेल्ने

अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले अब मलेसियासँग खेल्ने

काठमाडौं - रौनक श्रीवास्तवको सानदार अविजित शतकको मद्दतले नेपालले एसिसी मेन्स यू-१६ इस्ट जोन कपमा लगातार अर्को सहज जित हात पारेको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा नेपालले भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गरेको हो।

नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटियो। भुटानका अन्तिम ब्याटर ब्याटिङका लागि क्रिजमा नआएपछि नेपाल विजयी घोषित भएको हो। भुटानका लागि सुजन दावाले सर्वाधिक १४ रन बनाए भने ओपनर उयोग छोफेलले १० रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको सानदार बलिङमा कप्तान विपिनप्रसाद शर्माले घातक बलिङ गरे। उनले १० ओभरमा मात्र ७ रन खर्चिएर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, सचिन भट्ट र सुयोग भट्टराईले समान २-२ विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि रौनक श्रीवास्तवले उत्कृष्ट शतकीय इनिङ खेले। उनले १३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा अविजित रहँदै १६८ रन बनाए।

नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन र १७ रन जोड्दा आफ्ना दुई ओपनर गुमाइसकेको थियो। तर, तेस्रो विकेटका लागि रौनकले शिवान्श बजगाईंसँग ९१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स उकासे। शिवान्शले ५२ बलमा ५ चौकासहित ५४ रन बनाए। त्यसपछि रौनकले चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रन र पाँचौं विकेटका लागि जोय थापासँग १७० रनको सानदार साझेदारी गरे। सुगमले ३५ रन जोडे भने जोय ६७ बलमा ७ चौकासहित ६१ रनमा अविजित रहे।

यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपाल समूह चरणका सबै ४ खेलमा अपराजित रहँदै समूह 'ए' को विजेता बनेको छ। यो समूहबाट सिंगापुर उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने भुटान समूह चरणका सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

अब नेपालले सेमिफाइनलमा समूह 'बी' को उपविजेता आयोजक मलेसियासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। समूह 'बी' बाट हङकङ समूह विजेता बनेको छ।

नेपाल यो प्रतियोगिताको साविक विजेता पनि हो। सन् २०२३ मा भएको फाइनलमा मलेसियालाई नै हराएर नेपाल च्याम्पियन बनेको थियो। प्रतियोगिताको फाइनल खेल जुलाई ५ (असार २१ गते) मा हुनेछ।

प्रतिकृया दिनुहोस्