धनगढी - गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदुरपश्चिमका युवाहरुले त्यस क्षेत्रका सांसदहरुलाई राती एसएमएस मार्फत प्रश्न गरेका छन्। युवाहरुले सुदुरपश्चिमका सांसदहरुलाई "माननीयज्यू नमस्कार,
सुदूरपश्चिमले गेटामा मेडिकल विश्वविद्यालय माग्दैछ ।
तपाई कता हुनुहुन्छ?","माननीज्यू नमस्कार, गेटा विश्वविद्यालय सुदूरपश्चिमको लाईफ लाईन हो । हामी सुदूरपश्चिम बासी तपाईको भुमिकाको खोजी गर्दै छौ ।" जस्ता एसएमएस पठाएर दवाब दिएका हुन्। बिहीबार आज गेटा मेडिकल कलेजको मुख्य गेटमा संघर्ष समितिले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बोर्ड राखेको छ ।
२९ माघमा मन्त्रिपरिषद बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत गेटालाई विश्वविद्यालयका रुपमा अघि बढाउने उल्लेख गरेको थियो ।
तर १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमा भने सरकारले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको छ ।
सरकार आफ्नै निर्णयबाट पछि हटेको र मेडिकल कलेज सञ्चालन गर्न नदिने षड्यन्त्र भएको भन्दै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणार्थ गठित संघर्ष समितिले आन्दोलनमा उत्रिएको छ ।