काठमाडौँ - दुई जना भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन 'काटिदिँदा' जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाबारे औपचारिक विरोध जनाउन एमालेले मंगलबार संसद्मा माग गरेको हो ।
दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद गणेशसिंह ठगुन्नाले एमालेको तर्फबाट उक्त माग प्रतिनिधिसभाको बैठकमा भने 'यो घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरियोस्,' उनले भने, 'यो घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहिल गरियोस् ।' धामीका परिवारलाई सरकारले क्षतिपूर्ति गर्नुपर्ने पनि एमालेको माग छ ।
सांसद ठगुन्नाले दार्चुला घटनालाई स्थानीय प्रशासनले साम्य पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले स्थानीय प्रशासन र गृह मन्त्रालयले घटनालाई गम्भीर रूपमा नलिएको पनि आरोप लगाए ।