काठमाडौं - एशिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको ब्यवस्थापनमा ‘एशिया रग्वी यू- २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता’ काठमाडौँमा आयोजना हुने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता आगामी भदौ २ र ३ गते सञ्चालन हुने जानकारी दियो ।
प्रतियोगितामा पुरुषतर्फ नेपालसहित भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेई, हङ्कङ, उज्वेकिस्तान गरि सातवटा राष्ट्रको सहभागिता रहने बताइएको छ । महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसियाको सहभागिता रहने छ ।
प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । लिग चरणमा पहिलो र दोश्रो हुने टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ । प्रतियोगिता आयोजना गर्न ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजयी टोलीले एशिया रग्वीको ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण पनि गरिने बताइएको छ । प्रतियोगितालाई एशिया रग्वीसँग अनुवन्धित अन्य ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । नेपाली टोलीले प्रतियोगिताका लागि श्रीलंकाली प्रशिक्षक विजेलाथ सेनसँग पोखरामा प्रशिक्षण लिइरहेको जानकारी पनि पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले दिए ।
यसैबीच, नेपाल रग्वी संघ र गोक्योबीच सहकार्य सम्झौता भएको छ । सम्झौता अनुसार, गोक्योले रग्वी खेलाडीका लागि खेल पोशाक र खेल सामाग्री उपलब्ध गराउने छ । नेपाल रग्वी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्राण्ड मेनेजर अन्जिना राईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यसैगरी संघले भक्तपुर इन्टरनेशनल हस्पिटलसँग पनि सहकार्य सम्झौता गरेको छ । संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजीकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।