×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विचार

बिपीकाे संसदमा चुनाव हारेका भट्टराई यसरी बनेका थिए सभामुख

बिपीकाे संसदमा चुनाव हारेका भट्टराई यसरी बनेका थिए सभामुख

शेषकान्त पण्डित । २०१५ सालको निर्वाचनबाट गठित पहिलो जननिर्वाचित सरकार र संसद्लाई प्रभावकारी बनाउन बीपीले धेरै मेहनेत गरेको देखिन्छ । बाहुनको छोरो भए पनि निर्वाचनमा गाउँघर डुल्दा जथाभावी रक्सी खाएको आरोपमा गोरखाबाट निर्वाचनमा पराजित कृष्णप्रसाद भट्टराईको आवश्यकता महसुस गर्दै बीपीले सभामुख बनाउनुभएको थियो ।
थुप्रै निर्वाचित सांसद् भए पनि बीपीले ३५ वर्षीय भट्टराईलाई नै रोज्नुभयो । भट्टराईलाई सभामुख नबनाउन बीपीलाई त्यतिबेला घेराबन्दी नै भएको थियो । बीपीले भन्नुभएछ, पढेका मान्छे हुन् संसद् चलाउन उनको आवश्यकता पर्दछ । त्यतिबेलाका चर्चित पत्रकार तथा विद्धान भट्टराईले आफना सातातिना कमजोरीलाई लुकाएर सफल सभामुखको परिचय बनाउनुभयो । भट्टराईले त्यतिबेला संसद्मा लिखित भाषण गर्ने कुरामा रोक लगाउँदै संसद्लाई थप प्रभावकारी बनाउनुभयो ।

सभामुख सदनमा बारम्बार भन्ने गर्नुहुन्थ्यो ‘सत्तापक्षका सांसद्ले त धेरै बोल्ने होइन, विरोधीलाई बोल्न दिनुस् । सत्तापक्षले त विरोधीका कुरा सुन्ने र उनीहरुले दिएको सुझावलाई पालना गर्ने हो । भट्टराईले आफनो स्मरणमा उल्लेख गरेअनुसार बीपीले सभामुख, मन्त्री या अमेरिका बेलायत या आफूले छानेको देशको राजदूत हुन बाटो खुल्ला गरिदिनुभएको थियो ।

‘‘त्यसपछि मैलै सभामुख नै रोजे’’ भट्टराईले भन्नुभएको छ । संसद्मा विपक्षी दलको नेता थिए भरतशमशेर राणा । संसद्मा सानो उपस्थिति भए पनि बीपी विपक्षी दललाई उच्च महत्व दिनुहुन्थ्यो । नेता चयन भएपछि नेता भरतशमशेरले जिम्मेबारीपूर्ण र रचनात्मक दृष्टिकोण लिएर सरकारको नीतिको विरोध गर्दछौँ भन्ने अभिव्यक्ति दिएका थिए ।

बीपीले संसद्लाई उच्च महत्व दिदै प्रायःजसो बैठकमा सहभागी हुने र सांसद्हरुको जिज्ञासा समाधान गर्ने प्रयास गर्नुहुन्थ्यो । सरकार र विपक्षी दलवीच खासै मतभेद थिएन । त्यतिबेला सभामुखलाई घेराउ गर्ने, नारा लगाएर कार्यविधि अड्काउने, एक अर्कामा बोल्न अवरोध गर्ने र संसद् चल्न नदिने कुरामा भरतशमशेरको पुरै असहमति थियो । सरकारलाई आफनो दलले सहयोग गर्ने आश्वासन भरत शमशेरले दिएका थिए । सत्तापक्षले यसै पनि त्यस्ता गतिविधि गर्ने कुरै भएन ।

प्रधानमन्त्री तथा संसदीय दलको नेता बीपीको अनुमति बेगर कुनै अशिष्ट गतिविधि गर्न, मनपरी बोल्न सक्ने आँट कसैको थिएन । बीपी प्रम हुँदा एक दिन (त्यो पनि आधाघण्टा) मात्र विपक्षीले संसद् बहिस्कार गरेका रहेछन् । तत्कालीन मन्त्री गणेशमान सिंहले संसद्मा दिएको जवाफमा चित्त नबुझेका कारण विपक्षीले असहमति जनाएका रहेछन् ।

त्यसपछि संसद्मा दोस्रो यस्तो घटना दोहोरिएन । त्यतिबेलाका कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तुलसीलाल अमात्यले आफनो स्मरणमा भनेका छन् ‘‘संसद्भित्र कुनै हुलहुज्जत गर्ने काम गरेनौँ । न रोष्ट्रम कब्जा ग¥यौँ, न त नारावाजी न त तोडफोड ग¥यौँ, हामी तथ्याङ्कका आधारमा मात्रै सरकारको गलत कुराको खण्डन मात्र गथ्यौँ । ’’ बरु असंसदीय व्यवहार त राजा महेन्द्रले देखाएका थिए ।

मध्यरात १२ को अभुत साइत पारेर सांसद्को शपथ ग्रहण कार्यक्रम आयोजना गर्नेदेखि संसद्मा सैनिक पोशाकमा उपस्थित भएर आफू संसदीय व्यवस्थाको विपक्षमा रहेको जनाउ महेन्द्रले दिएका थिए । बीपीको बौद्धिक व्यक्तित्व र बढ्दो राजनीतिक कदलाई राजा महेन्द्रलाई पाच्य हुन सकेको थिएन ।

संसद्भित्र अपनाइने शिष्टता, प्रणाली वा बहसको स्तरको बारेमा अध्ययन अनुभव नभए पनि तत्कालीन संसद्ले आफनो गरिमा कायम गरेको थियो । बीपी त्यतिबेला बेलाको संसद्को भारतमा जवारलाल नेहरुसितको संसद्सित तुलना गर्नुभएको छ ।

नेहरु विपक्षीलाई उच्च सम्मान गर्दथे । बीपी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री हुँदा भारतमा नेहरु शासन चलिरहेको थियो । नेहरुको प्रभाव बीपीमा परेको थियो । बीपीले नेहरु प्रम भएको संसद्सित तुलना गर्दै आत्मवृतान्तमा भन्नुभएको छ ‘‘ त्यतिबेलाको हाम्रो संसद् नेहरुको संसद्भन्दा कम थिएन ।’’ संसदीय व्यवस्थालाई सभ्य, मर्यादित बनाउन बीपीले धेरै कसरत गर्नुभएको थियो ।

बीपी सांसद्हरुलाई पनि भन्ने गर्नुहुन्थ्यो ‘‘तपाईहरु किताव खुवै पढ्नुस् है । संसदीय व्यवस्थालाई प्रभावकारी बनाउने काम तपाईहरुकै भूमिकामा निर्भर छ ।’’बीपी आफना सबै प्रश्न राख्न आग्रह गर्दै त्यसले सरकारलाई नै बलियो बनाउँछ भन्ने मान्यता राख्नुहुन्थ्यो । बीपीले सरकारलाई संसद्प्रति जवाफेदही बनाउन सक्षम समकक्षीहरुको चयन गर्नुभएको थियो ।

आफना समकक्षी अर्थतन्त्रमा विशेष दखल राख्नुहुने सुवर्णशमशेरलाई बीपीले तत्कालीन संविधानमा व्यवस्थामा नै नभएको उपप्रधानमन्त्री बनाउनुभएको थियो । दुई स्थानमा निर्वाचन हारेरका तर बौद्धिक हिसावले बीपीकै हाराहारीको नेता मानिएका सूर्यप्रसाद उपाध्यायलाई बीपीले गृहमन्त्री र कानुनमन्त्रीको जिम्मेबारी दिनुभएको थियो ।

व्यक्तिको हैसियत अनुसार जिम्मेबार दिनुहुन्थ्यो बीपीले । महामन्त्री भइसकेका डा. तुलसी गिरिलाई सहायकमन्त्री बनाउनुभएको थियो भने विश्वबन्धु थापा महामन्त्रीबाट राजिनामा गरेर संसदीय दलको प्रमुख सचेतक बनाइएको थियो । सबैलाई समेटेर हिड्ने प्रधानमन्त्रीको प्रवृत्ति सम्पूर्ण संसद् परिवारमा प्रतिविम्वत रहयो । गम्भीर मतभेद पनि नरम भाषामा व्यक्त गर्ने परम्परा स्थापित थियो । नेपालको पहिलो संसद्को बारेमा माननीयज्युहरु पक्कै जानकार हुनुपर्ने हो ।


स्रोत: आत्मृवृतान्त, कृष्णप्रसाद भट्टराई, भरत शमशेर तथा बीपीका केही पुराना दस्तावेज, बीपी – महेन्द्र टकरावमा आधारित

प्रतिकृया दिनुहोस्