×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिम प्रदेशमा आज ‘नानी गौरा’ मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘नानी गौरा’ मनाइँदै

धनगढी -  सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज नानी गौरा मनाइँदै छ। नानी गौराको दिन ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहेको छ।

सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ।

आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ। बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्छन्। पौराणिक कालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ। 

दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ। तागाधारी पुरुषले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ।

प्रतिकृया दिनुहोस्