टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको छ । उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको हो ।
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा यहाँको चार दिने भ्रमणमा हुनुहुन्छ ।
“जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जर्गेनाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरुमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझैँ लाभान्वित हुन चाहन्छौं”, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिको क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
साँस्कृतिक रुपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको तथा बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीच बलियो पुलको काम गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले लुम्बिनीको विकासमा जापानको सहयोगप्रति आभार प्रकट गर्नुभयो । राष्ट्रपति पौडेलले जापानको सामाजिक–आर्थिक क्षेत्रमा आप्रवासी नेपाली समुदायको योगदानले द्धिपक्षीय सम्बन्धलाई कुनै न कुनै रुपमा बलियो बनाउन मद्धत पु¥याएको उहाँको भनाइ थियो ।
सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले भदौ २३ र २४ गते भएको प्रदर्शनीपछि राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि खेल्नुभएको भूमिकाप्रति देशबाहरि पनि अत्यन्त प्रशंसा भएको बताउँदै नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधै सहयोग गर्ने बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।
राज्यमन्त्री होरी इवाओले नेपालको शान्ति भनेको यो क्षेत्रकै शान्ति र विकास भएको उल्लेख गर्दै शान्ति र स्थायित्वका लागि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न होस भन्ने जापानले चाहेको पनि बताउनुभएको थियो ।
यसैगरी उहाँले जापानले नेपालको विकासमा निरन्तर सहयोग जारी राख्ने बताउँदै बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको पुननिर्माण र कोटेश्वर जाम अन्त्य गर्न आवश्यक अण्डर पास निर्माण गर्ने जापानले निर्णय गरिसकेको पनि जानकारी दिनुभएको थियो ।