काठमाडाैं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने भएकाे छ । निर्वाचन आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने छन् ।
तर अन्तिम मतदाता नामावली विवरणसँग परिचयपत्र भिडाई यकिन गरेर मात्र मतदान गर्न पाउने व्यवस्था मिलाइने आयाेगले जनाएकाे छ । निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।