काठमाडौँ- स्टार स्ट्राइकर लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी)बाट आइतबार डेब्यू गर्ने भएका छन् ।
पीएसजीले रेइम्सविरुद्धको खेलका लागि सार्वजनिक गरेको २२ सदस्सीय टोलीमा मेस्सीको नाम पनि समावेश गरिएको छ । खेल नेपाली समयअनुसार मध्यराति साढे १२ बजे रेइम्सको मैदानमा शुरु हुनेछ । स्पेनिस अखबार मार्काले आइतबार फ्रान्सको घरेलु लिगमा रिम्ससँगको खेलमा मेस्सीले डेब्यू गर्ने भएपनि उनी सुरुवाती ११ मा रहने या वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने भन्ने निश्चित भइनसकेको उल्लेख गरेको छ ।
प्रशिक्षक माउरिसिओ पोचेटिन्होको टोलीमा रहेर १५ दिन प्रशिक्षण गरेपछि मेस्सी डेब्युका लागि तयार भएका हुन्।
जुलाईको दोस्रो साता सम्पन्न कोपा अमेरिकाको फाइनल खेलेयता मेस्सी मैदानमा देखिएका छैनन् । उनी बार्सिलोनामा सम्झौता नवीकरण हुन नसक्दा यसै सिजन पीएसजीमा आबद्ध भएका हुन् । स्पेनिस क्लब बार्सिलोनामा करिब दुई दशक बिताएका उनले पहिलो पटक क्लब परिवर्तन गरेका हुन् । त्यसैले उनी आज क्लब फुटबलमा बार्सिलोनाबाहेक कुनै पनि क्लबको जर्सीमा पहिलो पटक मैदान उत्रनेछन् । र‚ त्यो जर्सी पीएसजीको हुनेछ ।
पीएसजीले यो सिजन घरेलु लिगमा खेलेका सबै तीन खेल जितेको छ । मेस्सीले १६ नाभेम्बर, २००३ मा बार्सिलोनाबाट डेब्यू गरेका थिए र त्यो खेल थियो पोर्तोसँगको । पोर्तोको घरेलु मैदानमा भएको त्यो खेल आफ्ना लागि अविस्मरणीय रहेको मेस्सीले बताउँदै आएका छन् ।
त्यसबेला ७५ औँ मिनेटमा मैदान प्रवेश गरेका उनले गोल गर्ने दुईवटा मौका पाएपनि गोल भने गर्न सकेनन् ।
स्पेनिस ला लिगा प्रतियोगितामा भने उनले १६ अक्टोबर २००४ मा डेब्यू गरेका हुन् । इस्पानियोलविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मेस्सी मैदान छिरेका थिए । उक्त खेलमा मेस्सीले ८ मिनेटमात्र मैदानमा बिताएका थिए । तर‚ उनी बार्सिलोनाबाट डेब्यू गर्ने सबैभन्दा कान्छो खेलाडी बन्न सफल भएका थिए ।
आफ्नो देशबाट भने मेस्सीले उमेर समूहमा पाराग्वेसँगको मैत्रीपूर्ण यू-२० को खेलमा डेब्यू गरेका थिए । अर्जेन्टिनाले ८-० ले जितेको त्यो खेलमा मेस्सीले १ गोलको योगदान गरे भने दुई गोलको अवसर सिर्जना गरेका थिए ।
सिनियर टोलीबाट भने मेस्सीले १७ अगस्ट २००४ मा हङ्गेरीसँगको मैत्रीपूर्ण खेलबाट डेब्यू गरेका हुन् । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मेस्सीले तीन मिनेटमै रातो कार्ड पाएर मैदान छाड्नुपरेको थियो ।
समग्रमा डेब्यू खेलमा सामान्यमात्र प्रदर्शन गर्न सकेका र पूरै समय खेल्न नपाएका मेस्सीको पीएसजी डेब्यू खेल कस्तो हुने हो‚ त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।
मेस्सीले आजको खेलपछि अर्जेन्टिनाका लागि खेल्नेछन् । सेप्टेम्बरको दोस्रो साता उनी क्लब फुटबलमा फर्कनेछन् ।