×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

डेब्यु खेलाडी चम्किदा बंगलादेशबिरुद्ध नेपालको रोमान्चक जित

डेब्यु खेलाडी चम्किदा बंगलादेशबिरुद्ध नेपालको रोमान्चक जित

काठमाडौं - राष्ट्रिय फुटबल टोलीमा डेब्यूमै प्रीती राई र सबिता रानाले गरेका गोलसँगै बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २–१ को रोमाञ्चक जित निकालेको छ । दशरथ रंगशालामा जारी खेलको १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

विमला चौधरीले दायाँतर्फबाट दिएको लामो क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेकी सबिताको राष्ट्रिय टोलीमा पहिलो खेल निकै यादगार बन्यो । उनले ६ यार्ड बक्सभित्रबाट सुन्दर हेडर प्रहार गर्दै गोल गरेकी थिइन् ।

भ्रमणकारी बंगलादेशमाथि हाबी बनेको नेपालका लागि २३औं मिनेटमा अर्की डेब्यूट्यान्ट प्रीतीले दोस्रो गोल गरिन् । उमेर समूहको कप्तानी गर्दै राष्ट्रिय टोलीमा पहिलो पटक आइपुगेकी प्रीतीले सरु लिम्बुले दिएको पासमा शानदार गोल गरिन् ।
सेन्टर लाइन नजिकबाट सरुले दिएको पास रिसिभ गर्दै प्रीतीले १८ यार्ड बक्स बाहिरबाट सुन्दर गोल गर्न सफल भएकी थिइन् । वान् भर्सेज वानमा मौका पाएकी १६ वर्षीया प्रीतीले बंगलादेशकी गोलकिपर रुप्ना चक्मालाई बिट् गर्दै उत्कृष्ट गोल गरेकी थिइन् ।

नेपालको दबाबमा रहेको बंगलादेशका लागि ३५औं मिनेटमा कप्तान सबिना खातुनको पासमा मोसाम्मत सोप्नाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पोष्टको दायाँतर्फबाट बाहिरिएको थियो । दोस्रो हाफको सुरुआतमा पनि नेपाल गोलको नजिक पुगेको थियो ।

सरुले ४९औं मिनेटमा सरुले पेनाल्टी एरिया भित्रबाट दिएको पासलाई प्रीतीले गोलमा परिणत गर्न सकिनन् । प्रीतीले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहारमा बंगलादेशकी गोलकिपर चक्माले महत्त्वपूर्ण बचाउ गरेकी थिइन् ।

बंगलादेशकी शृमोती सरकारले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारमा नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गरेकी थिइन् । तर, तोहिरा खातुनले उत्कृष्ट रन बनाएर १८ यार्ड बक्सको रेखाबाट प्रहार रोक्न नसक्दा एन्जिलाले क्लिनसीट राख्न सकिनन् ।

खातुनले मैदान प्रवेश गरेर पहिलो पटक पाएको बलमै गोल गर्न सफल भएकी थिइन् । बिहीबार भएको खेलमा नेपालका लागि तीन खेलाडीले डेब्यू गरेका थिए । सबिता र प्रीतीले सुरुआती–११ मा स्थान बनाउँदा सिर्जना सिंह सब्स्टिच्युटको रूपमा मैदान प्रवेश गरेकी थिइन् ।

एएफसी वुमेन्स एसियन कप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रंगशालामै हुनेछ । उज्वेकिस्तानमा हुने एएफसी वुमेन्स एसियन कप २०२२ को छनोटमा नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्स र २१ मा हङकङसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस्