×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा स्तब्ध,अर्जेन्टिना सेमिफाइनलमा

नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा स्तब्ध,अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं- कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले स्तब्ध अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो।

तनावपूर्ण बनेको क्वार्टरफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज नायक बनेपछि नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। 

कतारको लुसैल रंगशालामा सम्पन्न तनावपूर्ण खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि अर्जेन्टिना र नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकिएका थिए। पेनाल्टीमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले दुई प्रहार बचाए। 

मार्टिनेजले नेदरल्यान्ड्सबाट पहिलो प्रहारका लागि आएका कप्तान भर्जिल भान डाइग र दोस्रो प्रहारका लागि आएका स्टेभन बर्घुइसको प्रहार बचाए। नेदरल्यान्ड्सका टेउन कुपमेनर्स, वोउट विघ्रोस्ट र लुक डी यङले गोल गरे।

यता अर्जेन्टिनाका कप्तान लियोनल मेसी, लियो पाराडेज, गोन्जालो मोन्सियल र लौटारो मार्टिनेजले गोल गरे। अर्जेन्टिनाका लागि चौथो नम्बरमा पेनाल्टीका लागि आएका एन्जो फर्नान्डेजको प्रहार भने बाहिरिएको थियो। त्यसअघि, खेलको ३५औं मिनेटमा नाहुल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 

७३ औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई दोब्बर पारे। नेदरल्यान्ड्सका डेम्बेल डम्फ्राइजले आफ्नो १८ यार्ड बक्सभित्र क्षेत्रभित्र मार्कोस अकुनालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो। जसमा मेसीले कुनै गल्ती गरेनन्।

८३ औँ मिनेटमा वोउट विघ्रोस्टले गोल गर्दै नेदरल्यान्ड्सललाई २–१ मा फर्काएका थिए। यस्तै, खेलको इन्जुरी टाइमको अन्तिम मिनेटमा विघ्रोस्टले नै गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्किएको थियो। इन्जुरी टाइमकओ पनि अन्तिम मिनेटमा अर्जेन्टिनाको १८ यार्ड बक्सबाहिरबाट नेदरल्यान्ड्सले फ्रिकिकको अवसर पाएको थियो। उक्त फ्रिकिकमा टेउन कुपमेनर्सले चतुर्‍याइँपूर्वक निकालेको पासमा विघ्रोस्टले बललाई जालीको दिशा दिएका थिए। नेदरल्यान्ड्सले अन्तिम मिनेटमा बराबरी गोल निकालेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो।

यो जितसँगै अर्जेन्टिनाले फाइनलका लागि साविक उपविजेता क्रोएसियासँगको भेट पक्का गरेको छ।

प्रतिकृया दिनुहोस्