त्रिभुवन विश्वविद्यालयले परीक्षा फारम भर्ने र केन्द्र छनौट गर्ने आज अन्तिम दिन भएको जनाएको छ । अत्यन्त जरुरी सूचना जारी गर्दै त्रिविले स्नातक तह प्रथम वर्षको लागि फारम भर्ने र परीक्षा केन्द्र छनौट गर्ने आज अन्तिम दिन भएको जनाएको हो ।
साउन १० गतेदेखि सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि यो अन्तिम मौका भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचनामा उल्लेख गरेको छ । ‘पटक/पटक सूचना प्रकाशित गरिएकोमा विभिन्न क्याम्पसहरुबाट अझै केही परीक्षार्थीको परीक्षा फारम भर्न छुट भएको भन्ने जारीको हुन आएकोले उक्त छुट फारम भर्न/भराउन आजसम्म मात्रै म्याद थप गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘भोलिबाट परीक्षा फारम भर्ने/भराउन कार्य पूर्ण रुपमा बन्द गरिने ब्यहोरासमेत सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
यस्तै कोभिडका कारण स्थगित स्नातक तह दोस्रो वर्षको परीक्षा साउन ५ गतेदेखि सञ्चालन गरिने त्रिविले उल्लेख गरेको छ । उक्त परीक्षामा निर्धारण गरिएको केन्द्रमा परीक्षा दिन सम्भव नभएकाहरुका लागि साउन ३ गनेसम्म केन्द्र छान्न भनिएको छ । जिल्लाभित्रै भने परीक्षा केन्द्र छान्न पाइने छैन ।