×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुईमार्फत् वयस्क बनाएर देहव्यापार

सुईमार्फत् वयस्क बनाएर देहव्यापार

काठमाडौँ- नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ ।

कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् । २०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पुर्‍याइएको थियो ।

चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन)लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो । नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताए ।

उनले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताए ।कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पुर्‍याएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पुर्‍याएको बताए । बेहोसमा सँगै भारत पुर्‍याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका दिदीबहिनीलाई कलकत्ता पुर्‍याएर बेच्ने मुख्य अभियुक्त नुवाकोट दुप्चेश्वर–५ की २६ वर्षीया अनिशा तामाङ ‘फूलमाया’लाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । उद्धार गरेर ल्याइएकी टिनाले अनिसा ‘फूलमाया’ले आफूहरूलाई कपनको आकासेधारास्थित एक होटलमा लगेर चाउमिन खुवाएको प्रहरीलाई बताए ।

खाजा खाएपछि आफू बेहोस भएको र होस खुल्दा भारतको कोठीमा पुर्‍याइएको टिनाले बताएको प्रहरीले जनाएको छ । कोठी सञ्चालकले आफूलाई तीन लाख र दिदीलाई दुई लाख भारतीय रुपियाँमा किनेको बताएको र चार वर्ष जबर्जस्ती यौन व्यापारमा लगाएको उजुरी टिनाले प्रहरीमा दिएका छन् । आफ्ना यौनाङ्ग विकास गरी वयस्क देखाउन पटक पटक सुई लगाइदिएको उजुरीमा बताइएको छ ।

आर्थिक अवस्था कमजोर भएका टिना र रिनाको परिवार जीविकोपार्जनका लागि मकवानपुरबाट काठमाडौँ आएको थियो । सानैमा बुवा गुमाएका उनीहरूको पाँच जनाको परिवारको संरक्षण आमाले गर्दै आएकी थिइन् । घरखर्च चलाउन मुस्किल भएपछि टिनाका दाजु दैनिक मजदुरी गर्थे । फूलमायाका पूर्वपति पनि टिनाका दाजुसँगै मजदुरी गर्थे। सोही क्रममा फूलमायासँग उनीहरूको सम्पर्क भएको थियो ।

फूलमायाले दिदीबहिनीलाई पोखरामा लगेर डान्सबारमा काम लगाइदिने प्रलोभन देखाइन् । त्यो पत्याएर उनीहरू फूलमायासँग नजिक हुन थाले । यसैको फाइदा उठाएर फूलमायाले उनीहरूलाई होटलमा खाजा खान बोलाइ खाजासँगै कोकाकोलामा बेहोस पार्ने औषधि मिसाएर दिइएको थियो । बेहोस दिदीबहिनीलाई विभिन्न नाका हुँदै भारत पुर्‍याइए र बेचिए ।

ब्युरोकी निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंहले बालिका दिदीबहिनीलाई मुम्बई, इलाहावाद, कलकत्ता तथा कुचविहारका कोठीमा पुर्‍याइ पुनः पटक पटक बेचिएको जानकारी दिए । २०७४ साउनमा भारत पुर्‍याइएका दिदीबहिनीमध्ये बहिनी टिना खाजा किन्न पठाएको बेला कोठीबाट भाग्न सफल भएकी हुन्।

भारतीय प्रहरी, नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा टिनालाई गत असोज २३ गते नेपाल ल्याइएको हो । उनी परिवारको संरक्षणमा छन् । ब्युरोले बेचबिखनमा संलग्न फूलमायाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । गाेरखापत्रबाट

प्रतिकृया दिनुहोस्