काठमाडौँ - जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट फिर्ता बोलाउने निर्णय गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।
उनले भने, 'उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण फिर्ताको लागि सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।'
पार्टी अध्यक्ष डा. सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए ।