काठमाडौं- सांसदहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन्। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद दिल कुमारीले आफूमाथि प्रश्न उठेपछि गभर्नरले पदबाट राजीनामा दिएर एमालेको संगठन बलियो बनाउने काममा लाग्न आग्रह गरिन्।
एमालेको विभागमा सदस्य रहेको आरोप लागेपछि गभर्नर अधिकारी विवादमा तानिएका छन्।
यस्तै उनले वर्षायाममा मधेशमा सर्पको टोकाइबाट धेरै मानिसहरुको मृत्यु हुने गरेको बताइन्। महोत्तरीमा स्थानीयले २०६९ सालमा चन्दा उठाएर सर्पदंश उपचार अस्पताल बनाएको र सेनाले उपचार गरिरहेको बताइन्।
त्यहाँ एउटा भेन्टिलेटर पनि नभएको र अक्सिजनको पनि अभाव भएकोले स्वास्थ्य उपचारमा समस्या भएको भन्दै उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइन्। उनले त्यसबारेको भिडियो समेत स्वास्थ्यमन्त्रीलाई पठाएकाले सो भिडियो हेरेर भेन्टिलेटर र अक्सिजनको प्रवन्ध मिलाउन आग्रह गरिन्।