बैतडी - बैतडीमा एमाले पार्टीका संस्थापक हुन्, पृथ्वीराज अवस्थी ‘लालटिन बाजे’ । हरेकजसो निर्वाचनमा पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर संग अपोजिटमा चुनाव लडेका अवस्थीको भने चंद संगको सम्बन्ध सधै सुमधुर रह्यो । पैसाको अभाव, उच्च शिक्षा अध्ययनको समेत अवसर नपाएका पृथ्वीराजले चंद संगको चुनाव जित्न नसकेपनि जनताको माझमा निकै लोकप्रिय मानिन्छन् । ग्रामिण जनताको माझमा गई उनीहरुले भोग्नुपरेका शोषण, उत्पीडन र उपेक्षाको विरोध गर्ने पृथ्वीराज २०२७ सालमा नेपाल युवक संगठन गाँउ समितिको उपसभापति र २०२८ सालमा सोही समुहको जिल्ला स्तरीय समिति सभापतिका साथै गाँउ पञ्चायतको उपप्रधान पञ्च भएका थिए । उनको राजनितिक जीवन यहि देखि नै सुरु भएको थियो । त्यसपश्चात वि।स २०३३ सालमा गाँउ फर्क अभियानमा सक्रिय भएर लागेका थिए । नेपाल रेडक्रसका आजीवन सदस्य समेत रहेका पृथ्विराज अवस्थीले रेडक्रसमा सक्रिय रहेर लामो समयसम्म जनताको सेवा गरेका थिए ।
स्वर्गिय पृथ्वीराज अवस्थी दुई पटक राष्ट्रिय पञ्चायत र दुईपटक प्रतिनिधी सभाको निर्वाचनमा उम्मेदवारी दिएका थिए । तत्कालिन पञ्चायत कालमा विं.स.२०३८ र २०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायत सदस्यका समेत उम्मेदवार थिए ।
प्रजातन्त्रको पुर्नबहाली पश्चात वि.सं.२०४७ सालमा उनले नेकपा एमालेमा प्रवेश गरी बैतडीमा दलको संगठन विभाग प्रमुख भएर काम गरेका थिए । वि.सं.२०४८ सालको आमनिर्वाचन र वि.सं २०५१ सालको मध्यावति निर्वाचनमा बैतडी जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य पदको लागी उम्मेदवारी दिएका थिए । तत्कालिन समयमा बैतडीमा राम्रो पकड जमाएका राप्रपाका नेता पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चंदसंग उनले दुवै चुनावमा हार व्योहोर्नु परेको थियो ।
उनलाई एउटा नेता, राजनिज्ञ भन्दा पनि समाजसेवीको रुपमा बढी हेरीएको पाइन्छ । बैतडी देखी कैलालीको सेरोफेरोमा रहेर उनले कयौ विकाशका काम सम्पन्न गरेका छन् । कैलालीको गेटा आँखा अस्पताल देखि लिएर बैतडीका हरेक ग्रामिण भुभागमा स्वास्थ्य सेवा पुर्याउनुमा उनको विशेष योगदान पाइन्छ ।
बैतडीको ग्रामिण क्षेत्रमा शिक्षाको सहज पहुँच पुर्याएका पृथ्वीराज पञ्चायत व्यवस्था देखी आजसम्मको इतिहासमा लोकप्रिय राजनितिज्ञ हुन् । जसले प्राथमिक तहसम्म पनि शिक्षाको पहू्च नपुगेको गाँउमा उच्च शिक्षाको व्यवस्था गरे । पृथ्वीराज यस्ता राजनितज्ञ हुन्, जसले बैतडीमा स्थानिय क्षेत्रमा जलविदुत आयोजना निर्माणका लागी आफ्नो घरजग्गा धितो राखेका थिए ।
नेता पृथ्वीराज अवस्थी विपन्न परीवारमा जन्मेका हुन् । बाल्यकाल देखि नै आमाबाबुको मायाबाट समेत वन्चित रहेका अवस्थीले आफ्नै जीवनमा फरक फरक आयामहरु छन् ।
शोषण र उत्पीडन विरुद्ध आफ्नो सम्पुर्ण जीवन खर्चेका आदरणीय समाजसेवी हामी माझ रहनु भएन ।