बाबुरा- बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि आज भएको पुनःनिर्वाचनका क्रममा पनि विवाद हुँदा रोकिएको मतदान सुरु भएको छ ।
त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको थियो । मतदानका क्रममा वडा नं ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोजेको भन्दै झडप भएको बताइएको छ ।
झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन् । गठबन्धनका तर्फवाट उम्मेदवार बनेका भरत थापा र एजेण्ट लक्ष्मण थापा घाइते भएका छन् । मतदान केन्दमा विवाद भएपछि करिब १५ मिनेट मतदान स्थगित गरिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
बूढीगंगाको प्रमुखमा नेपाली कांग्रेसबाट रंग खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । १० वटा मतदानस्थल र ११ वठा मतदान केन्द्रमा मतदानको व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।