काठमाडौं- राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ आज (शुक्रबार) हुन सकेन । न्यायाधीश डा. मनोज शर्माको इजलासमा पेशी चढेपनि पालो नआएपनि सुनुवाइ आइतबारका लागि सरेको छ । पाँच फरक रिट निवेदनहरु एकसाथ न्यायाधीश शर्माको एकल इजलासमा पेशी तोकिएको थियो ।
संसद्का दुवै सदनले पुर्निविचार गरी दोस्रो पटक पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपतिले समयसीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि त्यसलाई राष्ट्रपतिले उल्लंघन गरेको यी सबै रिट दर्ता भएका हुन् ।
राष्ट्रपतिलाई विपक्षी बनाउन नहुने संवैधानिक व्यवस्था भएकाले रिटमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ । अधिवक्ता डा. सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरुले रिट दायर गरेका हुन् ।
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा दोस्रो पटक प्रमाणीकरणका लागि पेश गर्दा उक्त विधेयकलाई प्रमाणीकरण नगरी राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा ११३ (४) को उल्लंघन गरेको रिटमा उल्लेख छ ।
यी सबै रिटमाथि अब आइतबार एकमुष्ट सुनुवाइ हुने छ । संसद्का दुवै सदनले पुनर्विचार गरेर भदौ २० गते दोस्रो पटक गएको विधेयक राष्ट्रपतिले संवैधानिक सयमसीमा (१५ दिन) भित्र प्रमाणीकरण नगरेपछि उनीमाथि संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको आरोप लागेको छ ।