बिराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताएका हुन् । ‘मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौ वटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु’ उनले भने ।
प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ । प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उनले बताए ।