एजेन्सी - अर्बपति उद्यमी एलन मस्कको प्राथमिक ध्यान अन्तरिक्ष अन्वेषण र स्वचालित कारमा केन्द्रित रहँदै आएको छ । तर, एक्स (पहिलेको ट्वीटर) खरिद गरेपछि यी अर्बपति सफ्टवेयर सेवामा चासो देखाइरहेका छन् ।
मस्कले एक्सलाई एभ्रिथिङ एप (सबै सेवा एउटै एप) का रूपमा सञ्चालन गर्ने अभियान क्रमशः अगाडि बढाइरहेका छन् । बाहिरिएका विभिन्न अफवाह अनुसार मस्कले यसमा भुक्तानीको विकल्प उपलब्ध गराउने तयारी अघि सारेका छन् । एक्सले पहिले नै लिङ्क्डइनलाई टक्कर दिन जब पोर्टलको सेवा सुरु गरिसकेको छ । साथै एआईमा प्रयोगकर्तालाई स्तरीय सेवा उपलब्ध गराउन ग्रोक नामक एआई टुल नि निःशुल्क रूपमा उपलब्ध गराउन थालिएको छ । यद्यपि यसमा केही सीमितताहरू छन् ।
अहिले भने मस्कले गुगलको जिमेललाई चुनौती दिन ईमेल सेवा विकास गरिरहेको जस्तो देखिन्छ । यो सेवा छुट्टै एपको रूपमा आउने हो वा एक्सभित्रै समाहित हुनेछ भन्ने स्पष्ट भने छैन ।
मस्ककै कम्पनी एक्स एआईमा काम गर्ने रोस नामका कर्मचारीले एक्समा १६ डिसेम्बरमा ‘मस्कले आफ्नै ईमेल सेवा ल्याउन लागेको पुष्टि गरे’ भन्ने पोस्ट शेयर गरेका थिए । उनका अनुसार मस्कले ल्याउने ईमेल सेवा जिमेलको जस्तो थ्रेड्स नभएर मेसेजिङ एकको इनबक्स जस्तो हुनेछ । यो विश्वव्यापी रूपमा प्रयोगमा आउने युनिभर्सल ह्यान्डल सिस्टममा आधारित हुनेछ । र, यसका लागि छुट्टै एप इन्स्टल गर्ने वाध्यता नरहेको उनले उल्लेख गरेका छन् ।
त्यही पोस्टमा रिप्लाई गर्दै मस्कले भने, “हामी त्यही त गर्न गइरहेका छौं ।”
जसरी जिमेलमा username@gmail.com हुन्छ त्यस्तै मस्कको ईमेल सेवामा username@x.com हुने सङ्केत दिइएको छ । मस्कले ईमेल सेवाको जानकारी बारे पहिलो पटक सूचना बाहिर आएको हो । यसअघि गत फेब्रुअरीमा मस्कले आफ्नै ईमेल सेवा ल्याउने सङ्केत दिएका थिए । त्यतिबेला एक्सका इन्जिनियरले राखेको पोस्टमा रिप्लाई दिंदै मस्कले भनेका थिए, “यो आउँदैछ ।”
मस्कको ईमेल सेवा बारे त्यति विस्तृत विवरण अझै बाहिर आइसकेका छैनन् । तर, एक्स एआई कम्पनीका प्रतिनिधिले कस्तो हुनेछ भन्ने सङ्केत दिएका छन् । परम्परागत ईमेल (खासगरी जिमेल) को भन्दा यसको इन्टरफेस सामान्य र बढी अन्तर्क्रियात्मक हुने जनाइएको छ ।
२०२४ मा जिमेलका एक अर्ब ८० करोड बढी सक्रिय प्रयोगकर्ता छन् । र, यो गुगल इकोसिस्टमको महत्त्वपूर्ण अंशका रूपमा स्थापित भएको छ । मस्कका अनुसार उनले ल्याउने ईमेल सेवा ईमेललाई साधारण र डीएम शैलीको इन्टरफेस बनाउनेमा केन्द्रीत हुनेछ । यसबाट प्रयोगकर्ता परम्परागत ईमेल सेवा छोडी नयाँ ईमेल सेवामा आउने उनको विश्वास छ । तर, जसरी जिमेल गुगल इकोसिस्टममा महत्त्वपूर्ण छ, त्यति एक्स मेल हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । मस्कले सर्वसाधारणको विचार जान्न मात्र ईमेल सेवा ल्याउने घोषणा गरेका हुन् कि भन्ने केहीको अड्कल छ ।