काठमाडौं- भाटभटेनी ग्रुपका सञ्चालक तथा प्रतिष्ठित व्यवसायी मीनबहादुर गुरुङले देशलाई आवश्यक परेको खण्डमा आफ्नो आधा सम्पत्ति सरकारलाई दिन तयार रहेको घोषणा गरेका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति बेहोरेका गुरुङले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा यस्तो प्रस्ताव राखेका हुन्।
'मैले त पहिलेदेखि नै यो भन्दै आएको थिएँ। राज्यलाई आवश्यक परेको बेला म आधा सम्पत्ति दिन तयार छु,' सेतोपाटीसँग कुरा गर्दै गुरुङले भने, 'आज प्रधानमन्त्रीसँगको भेटमा पनि मैले यही भनेको हुँ।'
उनले व्यवसाय पुनःसञ्चालनका लागि भने तत्काल राज्यबाट राहत र सुरक्षा चाहिएको तर्क प्रधानमन्त्रीसमक्ष राखेका थिए। भदौ २४ गतेको आन्दोलनका कारण गुरुङले सञ्चालन गरेका भाटभटेनीका २८ वटा स्टोरमध्ये १२ वटामा आगजनीसहित पूर्ण क्षति पुगेको छ। त्यस्तै, नौ वटामा तोडफोड गरिएको थियो भने सातवटामा मात्रै कुनै क्षति पुगेको थिएन।
तोडफोड भएका सुपरस्टोरहरू गुरुङले पुनःसञ्चालनमा ल्याएका छन् र हाल १६ वटा सुपरस्टोर सञ्चालनमा रहेका छन्।
आइतबारको भेटमा उनले बीमा दाबीलाई छिटो-छरितो गरिदिन र सुरुमै कम्तीमा ५० प्रतिशत दाबी भुक्तानीको व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।
भाटभटेनी समूहले देशभर १० हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ। हालैको प्रदर्शनका कारण १२ वटा सुपरस्टोर तत्कालका लागि बन्द भए पनि गुरुङले एक जना पनि कर्मचारी ननिकाल्ने र कुनै पनि सेवासुविधा कटौती नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वार्षिक २७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको भाटभटेनी सुपरस्टोर नेपालको ठूला व्यवसायिक समूहमध्ये एक हो।