×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमाथि वेस्ट इन्डिजको फराकिलो जित

नेपालमाथि वेस्ट इन्डिजको फराकिलो जित

काठमाडौं- कप्तान शाई होप र निकोलस पुरनको उत्कृष्ट शतकको सहयोगमा वेस्ट इन्डिजले नेपाललाई फराकिलो अन्तरमा पराजित गरेको छ ।

जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा भएको खेलमा वेस्ट इन्डिजले १ सय १ रनको जित हात पारेको हो।

वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुदै २ सय ३८ रन मात्र बनायो ।

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेलेर आउट भए ।

नेपालका ओपनर आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटका लागि १६ बलमा १८ रनको साझदारी गरेका थिए ।

भीम सार्कीले ७ बलमा २ रन बनाएका थिए । सातौं विकेटका लागि आरिफ शेख र गुलसन झाले ९४ बलमा ६८ रनको महत्वपुर्ण साझेदारी गरे । गुलसन ५८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउँदै आउट भए ।

कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौकाको सहयोगमा ३० रन बनाए । ओपनर आसिफ शेखले ३६ बलमा २८ रन बनाए । करण केसीले २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २/२ विकेट लिए । कायल मेयर्सको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।


नेपालले सुरुआत राम्रो गरेको थियो । नेपालले पहिलो पावर प्लेमा वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए ।

पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चाल्र्सलाई दोस्रो विकेटका रुपमा आउट गराएका थिए । तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

चौथो विकेटका लागि कप्तान शाई होप र निकोलस पुरनले १ सय ७२ बलमा २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । यो साझेदारीले वेस्ट इन्डिजलाई खेलमा पुर्ण रुपमा हाबी गराएको थियो ।

पुरन ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए ।


पुरनले दुई पटक जीवनदान पाएका थिए । पहिलो पटक ललितको बलमा विकेटकिपर आसिफ शेखले एज लागेको बल क्याच मिस गरेका थिए । दोस्रो पटक पनि आसिफले नै करण केसीको बलमा क्याच मिस गरेका थिए ।

पहिलो पटक जीवनदान पाउँदा पुरन ३ रनमा खेलिरहेका थिए । दोस्रो जीवनदानमा भने पुरन ५४ रनमा खेलिरहेका थिए ।

पुरन आउट भए लगत्तै क्रिजमा आएका रोभमन पावलले कप्तान होपसँग मिलेर १९ बलमा ३९ रनको साझदारी गरे । १४ बलमा २९ रन बनाउँदै पावेल ललितनारायण राजवंशीको बलमा आउट भएका थिए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।


दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सुपर सिक्समा स्थान बनाउन नेपालले नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ । र, सोमबारको खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्