पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले फ्रेन्च लिग वानमा स्टार खेलाडी बिनानै आफ्नो उच्च प्रदर्शन जारी राखेको छ । गत साता क्लबमा भित्रिएका लियोनेल मेस्सी तथा अर्का स्टार नेयमार बिनानै मैदान उत्रिएको पीएसजीले ब्रेस्ट विरुद्ध ४-२ को प्रभावसालि जित निकाल्दै लगतार तेस्रो जित निकाल्न सफल भयो ।
पीएसजीलाई जित दिलाउन आन्द्रे हरेराले भलि मार्फत २३ औँ मिनेटमा पहिलो गोल गर्दा केलियन एम्बाप्पेले ३६ औँ मिनेटमा टीमका लागि दोस्रो गोल गरे । फ्र्यान्क होनर्टले ब्रेस्टलाई खेलमा फर्काउने प्रयास गर्दै ४२ औँ मिनेटमा गोल गरे । पहिलो हाफमा २-१ को अग्रता बनाएको पीएसजी दोस्रो हाफमा झनै आक्रामक बन्यो ।
इद्रिसा गुइएले पीएसजीलाई ७३ औँ मिनेटमा ३-१ को अबस्थामा पुर्याउँदा स्टेभ मोउनीले पुन खेलमा अग्रता कम गर्ने प्रयास गरे । तर सब्सटिच्युट एन्जल डि मारियाले ९० औँ मिनेटमा टीमका लागि चौंथो गोल संभव बनाउँदा पीएसजी जारी सिजन लगातार तेस्रो जित निकाल्न सफल भयो ।
जितसँगै पीएसजीले लिग वानको अंक तालिकामा ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा कायम छ । दोस्रोस्थानमा रहेको एंगर्सको २ खेलबाट ६ अंक हुँदा समान खेलबाट सेर्मोस्टोको पनि ६ अंक रहेको छ । पराजित ब्रेस्टको भने ३ खेलमा यो दोस्रो हार हो ।