काठमाडौं - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजदेखि हुने भएको छ । निर्माणको अन्तिम चरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
क्यालिब्रेसन फ्लाइट हुने भएकाले भैरहवा विमानस्थलको उडान आज दिनभर ठप्प हुने जनाइएको छ । क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने जनाइएको छ ।
कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले भैरहवाको उडान रोक्नुपरेको प्राधिकरणले जनाएको छ । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।
नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये पूर्णरुपमा यान्त्रिक हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नै पहिलो रहेको प्राधिकरणले जनाएको छ ।
फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ भने त्यसपछिको रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडान सुरु हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुनेछ ।