पोखरालाई इभेण्टको सहरका रुपमा चिनिन्छ । धेरै ब्यक्तिले रुचाउने सहर भएकोले यहाँ पर्यटकको आउजाउ बाक्लै हुन्छ । पोखरेलीहरुले पर्यटकलाई रमाउने कार्यक्रम थप्दै गएका छन् । पछिल्ला वर्षहरुमा पोखराले आफूलाई महोत्सवको सहरका रुपमा परिचित गराएको छ । साना ठूला २ दर्जनभन्दा बढी महोत्सव पोखराले गर्छ । अंग्रेजी नयाँ वर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसियसनले ‘नयाँ वर्ष महोत्सव’ (न्यु इयर फेष्टिवल) आयोजना गर्छ । रातको समयमा सडकमै हुने महोत्सवमा झुम्न नेपाली मात्रै होइन, विदेशी पनि उपस्थित हुन्छन् ।
पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय व्यापार मेला आयोजना हरेक वर्ष गर्छ । देशभरका व्यवसायीहरु आफ्ना उत्पादन र सामानहरु बेच्न मेलामा आउँछन् भने ग्राहकहरु किन्नका लागि भीड लाग्छन् । यस वर्ष भने यो मेला हुने/नहुने कुनै टुंगो छैन । आयोजकले कार्यक्रम नगर्ने बुझिएको छ । यो लगत्तै युनाइटेड क्लब पोखराले पोखरा महोत्सव आयोजना गर्छ । यो वर्ष ११औं संस्करणको यो महोत्सव २८ पुसदेखि ९ माघसम्म सन्चालन गर्ने तयारी छ । आयोजकले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।
‘मेला महोत्सव अर्थतन्त्र चलायमान गराउने राम्रो माध्यम हो । दुई वर्षसम्म कोभिडले निस्किन नपाएकाहरु यसपालि महोत्सवमा झुम्मिन्छन्,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई भन्छन्, ‘आयोजकले स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित रुपमा महोत्सव चलाउनुपर्छ । सम्बन्धित निकायले पनि निगरानी बढाउनुपर्ने देख्छु म ।’ लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय पनि महोत्सवलाई थप व्यवस्थित गर्नुपर्ने सुझाव दिन्छन् ।
‘धेरैलाई मेलामा सस्तो सामान पाइन्छ भन्ने विश्वास छ । कतिपयले सस्तो बेच्ने प्रचार गरेर बाहिर भन्दा महंगोमा बेचेको गुनासो सुनिन्छ,’ उनी भन्छन्, ‘यसमा आयोजक र ग्राहकहरु सजग हुनुपर्छ ।’ कोभिड संक्रमण पूर्ण नियन्त्रणमा नआएकोले महोत्सव सन्चालन चुनौतीपूर्ण रहेको उनले बताए ।