काठमाडौं- उम्मेदवारले प्रशासनसँग समय मागेर दिन बढीमा १२ घण्टा मात्र चुनवी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा अपनाउनु पर्ने निर्वाचन आचारसंहितामा कडाइ गरेको हो ।
अहिले उम्मेदवारहरु घर–दैलोमा छन् । प्रचारप्रसारका लागि आायोगले मौन अवधि सुरु हुनुभन्दा अघि १५ दिनको समय दिएको छ । आसन्न निर्वाचनका लागि उम्मेदवारले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ ।
यस्तै, उम्मेदवारहरुले प्रचारप्रसारमा जानुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनुपर्ने आयगेले जारी गरेको आचारसंहितामा उल्लेख छ । साथै, बाजागाजा तथा झाँकीसहित नजान र यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न पनि आचारसंहितामार्फत् आयोगले स्पष्ट पारेको छ।