×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गरियो, नाम सार्वजनिक गर्न मिल्दैन : त्रिवि

हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गरियो, नाम सार्वजनिक गर्न मिल्दैन : त्रिवि

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र तयार पार्ने कार्यमा संलग्नहरूमाथि छानबिन गरी कारबाही गरिएको दाबी गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताएका हुन्।

‘हुबहु प्रश्न सोधिएकोबारे कारबाही गरिसकिएको छ। यो संवेदनशील विषय भएकोले नामचाहिँ सार्वजनिक गर्न मिल्दैन। सुरक्षाका कारणले हो। नाम सार्वजनिक गर्दा हुबहु प्रश्नपत्र निकाल्ने यो पो रहेछ भन्ने हुन्छ,’ उपकुलपति बाँस्कोटाले भने।

त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहोर्‍याएपछि विरोध भएको थियो। हुबहु प्रश्नपत्र तयार गर्ने र एउटा विषयको उल्लेख गरेर अर्कै प्रश्नपत्र तयार पार्नेमाथि छानबिन गरी कारबाही गरिएको उनले बताए।

‘तीन वर्षसम्म पठनपाठन र परीक्षाका काम गर्न उहाँहरूमाथि रोकेका छौं,’ उनले भने, ‘उहाँहरूलाई विभागीय कारबाही गरिसकिएको छ।’ नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने त्रिविको भनाइ छ। विगतमा दुई जना शिक्षकको हत्या भएको पनि त्रिविले बताएको छ।

उनले अर्को प्रसंगमा कर्मचारी प्रविधिमैत्री नहुँदा इन्ट्रीलगायत काम गर्न समस्या भएकोले वार्षिक प्रणालीअन्तर्गत विभिन्न परीक्षाका परीक्षाफल एक वर्ष हुँदा पनि प्रकाशित गर्न नसकिएको दाबी गरेका छन्।

हुबहु प्रश्नपत्र तयार गर्नेमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै नेविसंघलगायतमा विद्यार्थी संगठनहरू आन्दोलित बनेका छन्।

प्रतिकृया दिनुहोस्