प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । सिंहदरबारबाट कुनै सन्देश नआएपछि बैठक स्थगित भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार अर्को बैठक सोमबार बस्नेछ ।
एमाले विवाद समाधानका लागि गठित कार्यदलका सहमति अनुमोदन गर्नको लागि बैठक बोलाइएको थियो । तर, सिंहदरबारमा जारी कार्यदल बैठकले सहमतिको घोषणा गर्न नसकेपछि स्थायी कमिटी बैठक नै रोकिएको हो ।
पछिल्लो समयमा ओली र माधवकुमार नेपाल पक्षबीच सर्वोच्च अदालतको फैसलाअघि वा पछि कहिले सहमति गर्ने भन्ने विषयमा कुरा अड्किएको छ । ओली पक्ष फैसलाअघि र नेपाल पक्ष फैसलापछि सहमति गर्ने पक्षमा रहेको छ ।
नेता नेपालले अदालतको फैसलालाई प्रभावित हुनेगरी अध्यक्ष ओलीसँग कुनै प्रकारको सहमति नहुने बताएका छन् । उनले प्रतिनिधि सभा पुनःस्थापनाका लागि गरेको हस्ताक्षर पनि फिर्ता नहुने अडानमा रहेका छन् भने ओलीले त्यसैलाई मिलनको बिन्दु बनाएका छन् ।
यसअघि शनिबार बसेको कार्यदलको बैठकपछि कार्यदलका सदस्यहरुले आजको बैठकबाट सुखद् समाचार सुन्न पाइने बताएका थिए ।