काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जितेको निर्वाचन क्षेत्र काठमाडौं-४ मा नेकपा एमालेले जितेको छ। उनको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकका ८ नम्बर वडा र काठमाडौं महानगरपालिकका ४ वटा वडा पर्दछन्।
तीमध्ये बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामा एमालेले जितेको छ। काठमाडौँ महानगरालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ। तीन वटा वडामा गणना जारी छ। एमालेले बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौंको १ नम्बर वडा जितेको छ।
एमालेका स्थायी समिति सदस्य डा. राजन भट्टराईको निर्वाचन क्षेत्र पनि यही हो। यसपटकको निर्वाचनमा उनी आफैंले कमान्ड गरेका थिए।
भट्टराई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार थापासँगै पराजित भएका थिए। बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वडा एमालेले जितिसकेको छ।
मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी भएका छन्। त्यहाँ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११ हजार ५१२ मतमा सीमित भए।
उपमेयरमा १४ हजार ३१४ मतसहित एमालेकै अनिता लामा विजयी भइन्। उपमेयरको प्रतिद्वन्द्वी पनि नेपाली कांग्रेसकै रमिला वाग्ले थिइन्। उनले ११ हजार ९७२ मत ल्याइन्।