काठमाडौँ- मेयर हर्कराज साम्पाङलाई साबुन उद्योग निर्माण रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । पछिल्लो समय निरन्तर विवादमा पर्दै आएका धरान उपमहानगरपालिकाका मेयर साम्पाङ लाई अदालतले पनि झट्का दिएको हो ।
वन क्षेत्रमा साबुन उद्योग निर्माण अघि बढाएपछि परेको एक रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले मेयर साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी भएको छ।
उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिएको हो। अदालतको अन्तरिम आदेशसँगै धरान उपमहानगरपालिका २० स्थित नमुना टोलमा जारी साबुन उद्योग निर्माण रोकिने भएको छ।
डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रको जग्गामा उद्योग खोल्नुपर्ने भए जग्गाको भोगाधिकार प्राप्त गरेर मात्रै काम अघि बढाउन उपमहानगरपालिकालाई आग्रह गरेको थियो। वनको उक्त आग्रहप्रति अटेर गर्दै मेयर साम्पाङले उद्योग निर्माणलाई अघि बढाएका थिए।